वैदेशिक रोजगारी ऐन छिट्टै लागू हुने
श्रम तथा रोजगार मन्त्रालयका सचिव रामकुमार आचार्यले वैदेशिक रोजगारी व्यवसायलाई मर्यादित र पारदर्शी बनाउन वैदेशिक रोजगारी ऐन छिट्टै लागू गरिने बताएका छन् ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार पत्रकार समाजद्वारा सोमबार यहाँ आयोजित अन्तक्र्रियामा उनले वैदेशिक रोजगारी ऐन संशोधनको प्रक्रिया अन्तिम चरणमा रहेकाले त्यस क्षेत्रका सरोकारवालाको सुझाव र सहयोगको आवश्यकता रहेको बताए ।
उनले कामदारलाई निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्थाले कामदारलाई फाइदा पुग्ने हुँदा त्यसलाई कुनै पनि हालतमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सोही मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलले अन्तर्राष्ट्रिय श्रम सुविधा प्राप्त गर्नेगरी नेपाली कामदार साउदी अरबमा पठाउनका लागि दुई देशबीच सम्झौता हुन लागेको बताए । उनले मन्त्रालयले राजनीतिक नेतृत्व प्राप्त गर्न नसकेकाले प्रशासनिक कार्यमा केही समस्या थपिएको बताए ।
वैदेशिक रोजगार प्रवद्र्धन बोर्डका निर्देशक उमाकान्त पौडेलले रोजगारदाता मुलुकबाट कामदारलाई प्राप्त हुने निःशुल्क प्रवेशाज्ञा र टिकट उनीहरुलाई शुल्क लिएर बेचबिखन गर्ने व्यवसायी तथा संस्थालाई कडा कारबाही गरिने जानकारी दिए ।
नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष विमल ढकालले सरकारले बिनातयारी निःशुल्क प्रवेशाज्ञा र टिकटको व्यवस्था गरेकाले कार्यान्वयनमा चुनौती थपिएको भन्दै गरिब नेपाली कामदारलाई न्यून शुल्कमा सुरक्षित रोजगारीमा पठाउनुपर्नेमा जोड दिए ।